काठमाण्डू, २७ असार– बझाङमा बोलेरो जिप दुर्घटनामा परेको छ । केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय बझाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिंडेको जानकारी दिएका छन ।
तर, घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएका कारण विवरण प्राप्त भइनसकेको जोराले जानकारी दिए । उनकाअनुसार जिपमा १५–१६ जना सवार भएको प्रारम्भिक जानकारी आएपनि यकिन हुन बाँकी छ ।
केदास्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले दुर्घटनामा ठूलो हाताहाती भएको खबर आएको जानकारी दिएका छन । जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।
अहिले घाइतेको उद्धारका लागि स्थानीयहरु घटनास्थलतर्फ गइरहेको अध्यक्ष बोहराले बताए । घाइतेको उद्धारका लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको उनले जानकारी दिए ।