काठमाण्डू, २७ असार– गत १८ असारमा कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ ।
अछामको तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ बस्ने तुलाराम सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ । यसअघि पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवाको शव फेला परेको थियो ।
उक्त मृतक सुवेदी र मेखेसहित उक्त गाडीमा रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी सवार रहेका थिए ।
असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटना भएको थियो । सडकबाट उक्त गाडी कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता भएको थियो ।