शहीदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौंः राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८१ माघ १६ गते १७:५३ मा प्रकाशित

काठमाण्डू, १६ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन ।

आज (बुधबार) तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा रहेको शहीद पार्कमा पुगेर शहीदहरूको शालिकमा माल्यार्पण पछि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन ।

उनले भने, ‘शहीदहरूको ठूलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं। अब विदेश जाने छटपटाहट छोडौं र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौं ।’

उनले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गरे । उनले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोज़गारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने पनि बताएका छन ।

राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको शहीद पार्कमा रहेका शहीदहरू भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा माल्यार्पण गरेका थिए । लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको शालिक यो पार्कमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us