काठमाण्डू, १६ माघ– गृहमन्त्री रमेश लेखकले सरकार सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा निरन्तर लागिरहेको दाबी गरेका छन । आज बुधबार राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारले सिंहदरबार परिसरमा आयोजना गरेको मूल समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले सरकार सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै गएको पनि बताएका छन ।
देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उनले बताएका छन । गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्नुपर्ने र सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्ने पनि बताएका छन ।
उनले संविधानको रक्षा, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण राष्ट्रिय आवश्यकता भएको बताउँदै गृहमन्त्रीले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने पनि बताएका छन ।
उनले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको पनि बताएका छन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट संविधानले परिकल्पना गरेअनुसार मुलुकमा दिगो शान्ति स्थापना, सुशासनसहितको विकास र समृद्धिको यात्रालाई पूर्णता दिन सकिने धारणा राख्दै उनले सरकार सोही बाटोमा दृढतापूर्वक लागेको बताए ।
उनले भने, ‘म सरकारको तर्फबाट पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, मुलुकमा दिगो शान्ति, शुसान, विकास र समृद्धि स्थापना गर्ने विषयमा कुनैपनि बाधा, अवरोध र कठिनाइले रोक्ने छैन । हामी अविचलित रूपमा जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ ।’