काठमाण्डू, १६ माघ– डोल्पाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँको एक घरमा बुधबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया बादी सार्की रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जानकारी दिएको छ ।
ईल गाउँस्थित सार्कीको घरमा आगलागी हुँदा सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिएका छन । आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको पनि वडा अध्यक्ष बुढाले जानकारी दिए ।
वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।
मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको वडाअध्यक्ष बुढाले बताए ।