काठमाण्डू, १६ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु आजको आवश्यकता भएको बताएका छन ।
आज (बुधबार) कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले काठमाण्डूमा आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’को उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन ।
उनले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउने पनि बताएका छन । सभापति देउवाले भने, ‘पछिल्लो समय ‘स्टार्ट अप’ व्यवसायतर्फ आकर्षण बढ्दो छ, युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गर्दैछन्, यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ, ‘व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ, थोरै लगानीमै ‘स्टार्ट अप’ व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।’
योसँगै बहुसम्भावनाका क्षेत्र कृषि, वन, जडीबुटी, पर्यटन, प्रविधिजस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने उनले बताए । उनले भने, ‘उद्यमी, व्यापारी, व्यवसायीले भोग्नुपरेका कानुनी तथा प्रक्रियागत झन्झट अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको छ, यो कानुनले यस क्षेत्रको सुधारमा आवश्यक सहयोग पुग्ने विश्वास लिएको छु ।’
मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि भएको बताउँदै सभापति देउवाले यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संशाधन, पूँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेमा जोड दिए ।