प्यूठान, ५ माघ–प्यूठानमा कक्षा ९ मा अध्ययनरत एक छात्राले अवैध शिशु जन्माएर हत्या गरेको खुलासा भएको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका–२ दर्भानमा गत ३ माघमा फोहोर फाल्ने डस्टबिनभित्र सालनालसहितको नवजात शिशुको शव भेटिएको थियो ।
घटनाको दुई दिनपछि प्रहरीले शिशु जन्माएर हत्या गर्ने किशोरीको पहिचान गरेको हो । प्यूठान
प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले शिशु जनमाएर हत्या गर्ने १७ वर्षीया ती किशोरीलाई पक्राउ गरिएको जानकारी दिए ।
अर्घखाँचीको शीतगंगा गाउँपालिका स्थायी घर भएकी ती किशोरी आफन्तको घरमा डेरा गरेर पढ्न बसेकी थिइन् । गाउँका कक्षा १२ मा पढ्ने युवकसँग प्रेम सम्बन्ध रहेको र उहीसँगको शारीरिक सम्पर्कपछि आफू गर्भवती भएको बयान उनले दिएकी छन् ।
२८ पुसको राति शिशु (छोरा) जन्माएपछि प्रेमीलाई फोन गरी प्रेमीलाई लिन आउन भने पनि प्रेमी मोबाइल अफ गरेर बसेको उनले बताइन ।
शिशु रुन थालेपछि घरको अर्को कोठामा बस्नेले थाहा पाउलान् भन्ने डरले आफूले मुख थुनेको र त्यही क्रममा शिशुको मृत्यु भएको बयान किशोरीले दिएको डिएसपी बस्याल बताउँछन् ।
आफ्नो उद्देश्य शिशुको हत्या गर्ने नभए पनि आत्तिएर मुख थुन्दा शिशुको ज्यान गएको उनको भनाइ छ ।
घटना भैरहवाबाट लगिएको विशेष तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको हो ।
डिएसपी बस्यालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनले किशोरीको प्रेमीको पनि खोजी भइरहेको जानकारी दिए ।