योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ:यादव

काठमाण्डु टुडे २०८१ माघ ५ गते १२:१७ मा प्रकाशित

ललितपुर, ५ माघ– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् ।

ललितपुर महानगरपालिका १६ र पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्त आयोजनामा शनिबार मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताए ।

‘ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ, यादवले भने, ‘२०४६ र २०६२/६३ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ । योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।’

यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचार/प्रसार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘स्वस्थ समाज निर्माणका लागि मानिस स्वस्थ्य हुनुपर्छ, योग साधना स्वस्थ्य जीवनका लागि महत्त्वपूर्ण छ, स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न सक्दैन, त्यसकारण सबै वडामा योग साधनको विस्तार होस् ।’

वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जली योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

उनले तीन वर्षको अवधिमा विकास निर्माणका साथसाथै सांस्कृतिक तथा सामाजिक क्षेत्रमा धेरै कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै विभिन्न सङ्घसंस्थासँग मिलेर समाज र समुदायको हितमा कार्यक्रम गरिरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us