काठमाण्डू, ५ माघ– सहकारी ठगी कसुरका फरार आरोपी जितेन्द्रबाबु (बिजी) राईको राहदानी रद्ध भएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।
कास्की प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले गत २८ पुसमा जिबीको राहदानी रद्ध गर्न माग गर्दै मुद्धा दायर गरेको थियो ।
अदालतका स्रेस्तेदार राजन खनालले आदेशसहित राहदानी विभागलाई पत्राचार गर्ने बताए ।
अदालतको पत्रपछि विभागले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्ध गर्ने उनको भनाइ छ ।
प्रहरीले राईविरुद्ध १२ माघमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।
जिबीसहित १९ जनाविरुद्ध सूर्यदर्शन सहकारी ठगेको कसुरमा एक अर्ब ११ करोड १९ लाख बिगो दाबी गर्दै गत १८ असोजमा कास्की जिल्ला अदालतमा मुद्धा दायर भएको थियो ।
राईविरुद्ध काठमाण्डूको स्वर्णलक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिमलगायत सहकारीबाट बचतकर्ताको रकम ठगी गरेको कसुरमा मुद्धा दायर गरिएको छ ।