
एजेन्सी- फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिना अघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्निये पद खुस्कीएको छ ।
फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि पहिलोपटक भएको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतले पास भएको बीबीसीले जनाएको छ ।
अविश्वास प्रस्ताव पास हुनका लागि २८८ मत चाहिनेमा पक्षमा ३३१ मत परेको थियो । मिशेल तीन महिनाअघि मात्रै प्रधानमन्त्री बनेका थिए । अविश्वास प्रस्तावमा हारेपछि फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बनेका छन् । उनी ९१ दिनसम्म मात्र प्रधानमन्त्री रहे ।
फ्रान्समा यसै वर्षको जुलाईमा आम चुनाव भएको थियो । तर कुनै पनि दलले बहुमत पाएका थिएनन् । त्यसैले राष्ट्रपति इम्यानुअल म्याक्रोले बर्नियेको नेतृत्वमा सरकार गठन गरेका थिए ।