प्रधानमन्त्री ओलीको गृहमन्त्री लेखकलाई निर्देशनः त्रिविमा उपद्रव मच्चाउने नेविसंघ कार्यकर्तालाई कारबाही गर्नू

काठमाण्डु टुडे २०८२ असार २ गते २१:५९ मा प्रकाशित

काठमाण्डू, २ असार– प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्ने काँग्रेसनिकट नेविसंघ कार्यकर्तालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीले सुरक्षा र काम गर्ने वातावरण बनाइदिन माग गर्दै सोमबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेका थिए । ओली विश्वविद्यालयका कुलपतिसमेत हुन् ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले आक्रमण र तोडफोडमा जो कोही संलग्न भए पनि कारबाही गर्न गृहमन्त्री लेखकलाई निर्देशन दिएको जानकारी गराए ।

परीक्षा तालिका सार्वजनिक भइसकेको अवस्थामा पुनः भर्ना खोल्न दबाब दिए पनि त्रिवि पदाधिकारीले नमानेपछि नेविसंघबाट उपत्यकाका विभिन्न स्ववियुमा निर्वाचित पदाधिकारीले गत १४ जेठमा कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको सचिवालयमा तोडफोड गरेका थिए । उक्त घटनामा संलग्न मदनराज उपाध्याय र भुवन ओझा पक्राउ परेका थिए ।

तर, प्रहरीले उनीहरुलाई गृहमन्त्रीकै निर्देशनमा म्ुद्धा नचलाई रिहा गरिसकेको छ । उनीहरुविरुद्ध त्रिविले संस्थागत रुपमै उजुरी दिएको थियो ।

त्रिविका निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले घटनामा संलग्नमाथि कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेकाहरूलाई गृह प्रशासनको ठाडो दबाबमा रिहा गरिएको भन्दै प्रधानमन्त्री ओलीसँग गुनासो गरे ।

त्यस क्रममा केसीले विश्वविद्यालयको सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउन लिखित रुपमा माग गरे । उनले असुरक्षाका कारण त्रिविबाहिरैबाट दैनिक प्रशासन सञ्चालन गरिरहनुपरेको भन्दै केसीले ओलीको ध्यानाकर्षण गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us