भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन

काठमाण्डु टुडे २०८२ असार ९ गते २२:३६ मा प्रकाशित

काठमाण्डू, ९ असार– सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिनाभित्र समिति गठन गर्ने दुई बुँदे सहमति भएको थियो ।

छानबिनको माग गर्दै माओवादीसहित विपक्षीले १८ दिनसम्म संसद् अवरुद्ध गरेका थिए । सरकार र माओवादीबीचको सहमति वपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्वीकार गरेको छ ।

संसदीय वा उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर रास्वपाले संसद अवरुद्ध गर्दै आएको छ । संसदको पाँचौं दल राप्रपाले पनि बैठक अवरुद्ध गर्दै आएको छ ।

दैनिक ५० लाख रुपैयाँ सेन्ट्रल कलेक्सन गरेर भिजिट भिसामा युवाहरुलाई विभिन्न देश पठाउने गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि त्यसमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको भन्दै विपक्षीले सुरुमा उनको राजीनामा मागेका थिए । तर, अहिले कुनै पनि विपक्षी दलले गृहमन्त्रीको राजीनामा मागेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us