
काठमाण्डू, ९ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमा जलविद्युत उत्पादकहरुका लागि समावेश गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउन एमालेलाई दबाब दिएका छन् ।
सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त व्यवस्था संशोधन नभए बजेट पारित गर्न नसघाउने चेतावनी दिएका छन् । आगामी आर्थिक वर्षको बजेट मंगलबार संसदबाट पारित गर्ने तयारीमा सरकार छ ।
देउवाले पौडेलाई सोमबार संघीय संसद भवन नयाँबानेश्वरबाट टेलिफोन गरेका थिए । देउवाले पुरानै व्यवस्थालाई निरन्तरता नदिए आफूहरुले सांसदहरुलाई बजेट पारित गर्न भन्न नसक्ने बताए ।
काँग्रेसका एक पदाधिकारीका अनुसार देउवाले उक्त प्रावधान सच्याउन तयार नहुने हो भने सत्ता गठबन्धनबारे समेत पुनर्विचार गर्ने चेतावनी दिए ।
बजेटमा विद्युत प्राधिकरणले आवश्यताका आधारमा मात्र निजी क्षेत्रले उत्पादन गरेको विद्युत खरिद गर्ने व्यवस्था राखिएको छ ।
जलविद्युतका लगानीकर्ताहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उक्त प्रावधान सच्याउन माग गर्दै आएको छ ।
प्राधिकरणले सबै विद्युत खरिद सम्झौता (पीपीए) गरेको भए पनि सरकारले जल प्रवाहमा आधारित (रन अफ रिभर) विद्युत आयोजनाबाट चाहिने जति मात्र विद्युत खरिद गर्ने व्यवस्था बजेटमा छ ।