युवासंघलाई ओलीको निर्देशनः गुण्डागर्दीमा नलाग्नु, गालामा हान्न आए ‘ओम शान्ति’ भनेर नबस्नु

काठमाण्डु टुडे २०८२ असार ९ गते २१:२५ मा प्रकाशित

काठमाण्डू, ९ असार– एमाले अध्यक्षसेमत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीनिकट युवासंघलाई गुण्डागर्दीमा नलाग्न निर्देशन दिएका छन् ।

युवा संघ केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले दम्भी र घमण्डी नहुन पनि आग्रह गरे । तर, कसैले गालामा पिट्न आए ओम शान्ति भनेर नबस्न निर्देशन दिए ।

‘हाम्रा युवाहरू दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान, विनयी र शालिन हुनेछन् । गुन्डा हुने छैनन्, बलवान हुनेछन्। कसैले गालामा पिट्न आएमा ओम शान्ति भनेर चाहिँ बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ,’ ओलीले भने ।

युवा संघ जागरण र देशभक्तिपूर्ण आन्दोलनको नायक भएको उनको दाबी थियो । ओलीले युवाहरुलाई नयाँ नभई सही विचार र नेतृत्वको पछि लाग्न भने । ओलीले आगामी स्थानीय र संघ तथा प्रदेशको निर्वाचन तयारीमा अहिल्यैदेखि लाग्न पनि संघलाई निर्देशन दिए ।

फरक प्रसंगमा ओलीले कोही नेता आवश्यकताले दोहोरिने र कोही पहिलो परीक्षणबाटै असफल हुने भन्दै उनले आफूलाई सफल नेताको रुपमा प्रस्तुत गरे ।

जनताको बहुदलीय जनवाद पारित भएपछि पनि लामो समयपछि मात्र पार्टीले सही नेतृत्व पाएको जिकिर उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us