स्थानीय तहको उपनिर्वाचनः कांग्रेसले जित जोगाउन सकेन, एमाले र माओवादीले खोस्य कांग्रेसको सिट

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १२:२९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– हिजो (आइतबार) भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । आइतबार देश भर रिक्त रहेका स्थानीय तहका ४४ स्थामा उपनिर्वाचन भएको थियो । जस मध्य हाल सम्म ३७ स्थानको नतिजा सार्वजनिक भईसकेको छ । अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।

हाल अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ ।

यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये गएको ०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो । नेकपा एमाले र नेकपा माओवादीले केही सिट थपिसकेको छ । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेको ७ स्थान रिक्त भएको थियो ।

हालसम्मको परिणाममा एमालेले ८ पदमा जित निकालिसकेको छ भने माओवादीले सात स्थानमा जित निकालिसकेको छ । माओवादीले मोरङको ग्रामथान गाउँपालकामा जित निकालेको छ । यो पालिकामा २०७९ साल वैशाखमा सम्पन्न चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । जाजरकोटको नलगाडको उपमेयरमा पनि माओवादीले जितेको छ । यो पालिकामा २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो ।

गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए । २०८० कात्तिक १७ गते भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त पदमा भएको उपचुनावको परिणाम माओवादीले आफ्नो पक्षमा पारेको हो । एमालेले पनि विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए ।

यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । ०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो । जसपा नेपालले गत चुनावमा जितेको मध्ये एउटा पद मात्रै रिक्त भएको थियो ।

यो उपचुनावमा जसपा नेपालले दुई पद जितिसकेको छ । एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि जितेर एकरएक सिट थपिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us