काठमाण्डु, १७ मंसिर- काठमाण्डुको कीर्तिपुर नगरपालिका प्रमुखमा काँग्रेस उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार डंगोल १ हजार ३ सय १६ मतसहित अग्रस्थानमा छन् ।
उनलाई पछ्याइरहेका एमालेका सुरेन्द्र मानन्धरले ९ सय ७८ मत ल्याएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७ सय १६, स्वतन्त्र उम्मेदवारद्वय राजमान महर्जनले ५ सय २० र दिनेशकुमार अधिकारीले ४ सय ३४ तथा राप्रपाका ध्रुव महर्जनले २ सय २७ मात प्राप्त गरेका छन् । र्कीतिपुरको मेयरमा ०७९ मा पनि काँग्रेस निर्वाचित भएको थियो ।
काँग्रेस महामन्त्री गगनकुमार थापाले चुनावी सभालाई सम्बोधन गर्ने कीर्तिपुरको डाँडामा ल्यापटप बोकेर बस्ने युवाले लाखौं कमाउन सक्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा थापालाई ट्रोल बनइएको छ ।
थापाको अभिव्यक्तिको नकारात्मक प्रभावका कारण काँग्रेसको मत घट्ने अनुमान गलत सावित गर्दै कृष्णमानले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
एमाले उम्मेदवार मानन्धरभन्दा उनी ३ सय ३८ मतले अगाडि छन् । ०७९ मा काँग्रेसबाटै निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको ११ साउन २०८१ मा निधन भएको थियो ।