सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः प्रचण्ड

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते ११:०८ मा प्रकाशित

काठमाण्डू, ७ कात्तिक- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँग बुधबार भएको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’, प्रचण्डले भने– ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’
उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले बताए ।
सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए ।

उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै आगामा कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाण्डूमा खबरदारी सभा गर्न लागिएको जानकारी दिए ।

पार्टीको पक्षमा देशब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us