वामपन्थी सहकार्य गर्न झलनाथको जोड

काठमाण्डु टुडे २०८३ साउन ३ गते १५:०५ मा प्रकाशित

  काठमाण्डू, ३ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन ।

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको तर्क छ ।

आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले बालेन शाह नेतृत्वको नयाँ सरकार बनेपछि मुलुकका समस्या समाधान हुने आम जनताको आशा निराशामा परिणत भएको बताएका छन ।

वर्तमान सरकारको पालामा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताको सूचनाको हक, छिमेकीसँगको सम्बन्ध र राज्यका अङ्गहरूबीचको सम्बन्धसमेत खलबलिन थालेको उनको आरोप रहेको छ । खनालले विज्ञप्तिमा भनेका छन्, ‘यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन्, ‘यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र घरेलु अस्तव्यस्तताविरुद्ध आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको देख्न चाहन्छन् ।’

विगतमा नीतिहीन, वर्ग दृष्टिकोणविहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग एकता गरेर कम्युनिस्ट पार्टीले गल्ती गर्दै आएको भन्दै खनालले फेरि त्यस्तै साँठगाँठ गरेर पार्टीको प्रतिष्ठामा थप आँच पुर्‍याउने खतरा बढेको समेत उनले बताएका छन ।

विशेषगरी प्रदेश सभामा सरकार बनाउने सन्दर्भमा भइरहेका राजनीतिक कसरतप्रति लक्षित गर्दै उनले कुनै पनि नयाँ राजनीतिक समीकरण बनाउनुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाउन नेतृत्वसँग माग समेत गरेका छन ।

उनले भनेका छन, ‘कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्। आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस्, ‘क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस् ।’

खनालले ‘केही नेताहरूको व्यक्तिगत स्वार्थ र कुर्सी मोहका लागि गरिने सम्झौतावादी प्रवृत्ति रोक्न आग्रह गर्दै अहिलेको समय पदका लागि साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको’ दाबी गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us