रोनाल्डोले सर्वकालीन ८ महान् खेलाडीको सूचीमा आफूलाई राखे, क्रिस्टियानोलाई राखेनन्

काठमाण्डु टुडे २०८३ असार २६ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, २६ असार– ब्राजिलका चर्चित फुटबलर रोनाल्डो नाजारियोले फुटबल इतिहासका आठ महान् खेलाडीहरूको सूची बनाउँदा आफूलाई पनि उक्त सूचीमा समावेश गरेका छन । तर, उनले यो सूचीमा उनले पोर्चुगीज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भने राखेनन् ।

४८ वर्षीय रोनाल्डो आफ्नो पुस्ताका उत्कृष्ट र घातक स्ट्राइकरमध्ये एक हुन् । उनले रियल म्याड्रिड, बार्सिलोना र इन्टर मिलान जस्ता प्रतिष्ठित क्लबहरूबाट खेल्दै ५१८ खेलमा ३५२ गोल गरेका छन् । उनले ब्राजिलका लागि ९८ खेलमा ६२ गोल गर्दै सन् १९९४ र २००२ मा दुई पटक विश्वकप उपाधि समेत जितेका छन् ।

दुई पटकको ‘ब्यालोन डी ‘ओर’ विजेता रोनाल्डोको करियरमा पटक–पटकको घुँडाको चोटले केही अवरोध पुर्‍याए पनि उनी सर्वकालीन महान् खेलाडीको सूचीमा निर्विवाद रूपमा अटाउँछन् । उनी आफैं पनि आफू महान् खेलाडीहरूमध्ये एक भएको विश्वास गर्छन् ।

सन् २०२२ मा ‘द गार्जियन’सँग कुरा गर्दै उनले आठ जना विशेष खेलाडीहरूको नाम लिएका थिए । रोनाल्डोले भनेका थिए, ‘मलाई लाग्छ फुटबलमा एउटा एकदमै विशेष समूह छ, जहाँ डिएगो म्याराडोना, लियोनल मेस्सी, जोहान क्रुफ, फ्रान्ज बेकेनबाउर, पेले, मार्को भ्यान बास्टेन र रोनाल्डिन्हो छन् ।

म यसमा आफूलाई पनि समावेश गर्छु । यस विषयमा फ्यानहरूलाई बारमा बसेर बहस गर्न दिनुहोस्, तर उनीहरूलाई एउटा निश्चित श्रेणीमा राख्न वा फरक पुस्ताका खेलाडीसँग तुलना गर्न मिल्दैन ।’उनले अगाडि थपे, ‘मानिसहरू मलाई ‘ओरिजिनल रोनाल्डो’ भन्छन्, तर म एक्लो होइन ।

अरू धेरै आउनेछन् जो मभन्दा हरेक कुरामा राम्रो हुनेछन् । मैले जे जति गर्न सक्थेँ, आफ्नो उत्कृष्ट दिएँ ।’ उनले आफ्नै नामसँग मिल्दोजुल्दो पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन् । क्रिस्टियानोले पाँच पटक ‘ब्यालोन डी’ओर’ जितिसकेका छन् र मेस्सी (८ पटक) पछि सबैभन्दा धेरैपटक यो अवार्ड जित्ने खेलाडी हुन् ।

३९ वर्षको उमेरमा पनि मैदानमा सक्रिय क्रिस्टियानोले हालै व्यावसायिक फुटबलमा ९०० गोलको आँकडा पार गरिसकेका छन् । आफ्नो ‘उत्कृष्ट ८’ को सूचीमा नराखे पनि ब्राजिलियन रोनाल्डोले पोर्चुगिज स्टारको सधैं प्रशंसा नै गर्ने गरेका छन् ।

सन् २०१७ मा उनले ‘ला गाजेट्टा डेलो स्पोर्ट’ सँग भनेका थिए, ‘हाम्रो खेल्ने पोजिसन र तरिका फरक भए पनि गोल गर्ने हाम्रो भोक र इच्छा भने उस्तै छ । ३३ वर्षको उमेरमा पनि क्रिस्टियानो जसरी फिट छन्, त्यो अचम्मको छ । उनी जसरी आफ्नो शरीरको हेरचाह गर्ने र आफूलाई सुधार्ने इच्छा शक्ति भएका खेलाडी निकै कम छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us