काठमाण्डू, २६ असार– मोरक्कोलाई पराजित गर्दै फ्रान्सलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुर्याए फ्रान्सका का कप्तान किलियन एम्बाप्पे लगातार अर्को पटक पनि ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन ।
आज भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सेमिफाइनलमा बेल्जियम वा स्पेनमध्ये जोसुकै प्रतिद्वन्द्वी बने पनि आफूलाई कुनै फरक नपर्ने समेत बताएका छन । उनले भने, ‘मलाई कुनै फरक पर्दैन। बेल्जियम भए बेल्जियम, स्पेन भए स्पेन । जे हुन्छ, त्यसैलाई सामना गर्छौं ।
सेमिफाइनल सधैं कठिन हुन्छ,’ एम्बाप्पेले भने । फ्रान्स टोलीमा आफू पहिलेभन्दा बढी नेतृत्वदायी भूमिकामा रहेको महसुस हुन्छ कि भन्ने प्रश्नमा एम्बाप्पेले त्यसलाई स्वीकार गरेका छन् । ‘म फ्रान्सको टोलीसँग निकै सहज महसुस गर्छु । यो मेरो अत्यन्तै प्रिय समूह हो ।
धेरै खेलाडीसँग मेरो वर्षौँदेखिको मित्रता छ । अहिलेका युवा खेलाडीले मलाई टोलीका अनुभवी खेलाडीमध्ये एकका रूपमा हेर्छन् ।’ उनले आफूले विशेषगरी मैदानबाहिर उदाहरण प्रस्तुत गर्नुपर्ने जिम्मेवारी महसुस गरेको पनि बताएका छन ।
‘मैदानमा हुने कुरा फुटबलसँग सम्बन्धित हुन्छ । तर मानसिक र भावनात्मक रूपमा मसँग धेरै अनुभव छ, किनभने यो टोलीमा मैले सबैभन्दा धेरै विश्वकप खेल खेलेको छु । विश्वकपमा खेल्नु कस्तो हुन्छ भन्ने मलाई थाहा छ र त्यो अनुभव आफ्ना टोलीका साथीहरूलाई बाँड्नु मेरो जिम्मेवारी हो ।’