काठमाण्डु– बागमती नदीले सतर्कताको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाण्डुको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जनाएको छ ।
विभागले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २।४१ मिटर पुगेको छ । जुन नदीको पानीको तह २।१ मिटरमाथि सतर्कता तह हो ।
नदीको बहाव बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह दुई दशमलव सात मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ ।
‘हाल नदीको बहाव बढिरहेको छ । गौरीघाट क्षेत्रमा बागमती नदीले सतर्कता तह पार गरिसकेको छ । नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनुपर्छ’, पाजुलीले भने ।
विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा विभागबाट जारी हुने पछिल्ला बाढी पहिरोसम्बन्धी सूचना र चेतावनीलाई नियमित रूपमा पालना गर्न पनि आग्रह गरेको छ ।