फेरान टोरेसको निर्णायक गोलमा स्पेन विश्वविजेता, ३८ खेलको अपराजित यात्रासहित नयाँ इतिहास

काठमाण्डु टुडे २०८३ साउन ४ गते ४:३४ मा प्रकाशित

काठमाडौं- वैकल्पिक खेलाडी फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

१६ वर्षपछि दोस्रोपटक विश्वकप जितेको स्पेनले यससँगै युरोपेली फुटबलको इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेको छ ।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार राति सम्पन्न फाइनल निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी टोरेसले पेनाल्टी क्षेत्रभित्र बाउन्स भइरहेको बललाई देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाए ।

उनको त्यही गोल स्पेनलाई दोस्रोपटक विश्वविजेता बनाउन पर्याप्त बन्यो ।

स्पेनले सुरुदेखि नै बल नियन्त्रण र आक्रमणमा वर्चस्व कायम गरेको थियो ।

अर्जेन्टिनाले पहिलो हाफमा गोलतर्फ एउटा पनि प्रहार गर्न सकेन भने स्पेनले पटक–पटक अवसर सिर्जना गर्दै विपक्षीमाथि निरन्तर दबाब बनाइरह्यो ।

निर्धारित समयमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भए ।

१० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले थप दबाब सिर्जना गर्‍यो र अतिरिक्त समयको दोस्रो हाफको सुरुमै टोरेसको गोलमार्फत उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

३९ वर्षीय लिओनल मेस्सीका लागि भने फाइनल निराशाजनक रह्यो ।

स्पेनको सुदृढ रक्षापंक्तिले उनलाई प्रभाव जमाउन नदिँदा सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप जित्ने अवसरबाट वञ्चित भयो ।

क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनल पुगेको स्पेनले प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्‍यो ।

आठ खेलमा केवल एक गोल मात्र व्यहोरेको स्पेनले विश्वकप च्याम्पियन टोलीले प्रतियोगिताभर सबैभन्दा कम गोल खाने नयाँ कीर्तिमानसमेत कायम गरेको छ ।

विश्वकप उपाधिसँगै स्पेनले आफ्ना पछिल्ला ३८ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहने अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरेको छ ।

यस अवधिमा उसले २९ खेल जितेको र ९ खेल बराबरी खेलेको छ । यो कुनै पनि युरोपेली राष्ट्रिय टोलीको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो ।

यसअघि इटालीले अक्टोबर २०१८ देखि सेप्टेम्बर २०२१ सम्म ३७ खेलमा अपराजित (२८ जित, ९ बराबरी) रहने कीर्तिमान बनाएको थियो, जसलाई स्पेनले उछिनेको हो ।

पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि स्पेनलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन ।
सन् २०१० पछि दोस्रो पटक विश्वकप जितेको स्पेनले उत्कृष्ट रक्षात्मक प्रदर्शन, सामूहिक खेल र प्रभावकारी आक्रमणमार्फत विश्व फुटबलमा आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ ।

निर्णायक क्षणमा फेरान टोरेसले गरेको गोलले स्पेनको फुटबल इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ भने अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै बनेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us