सत्ताका लागि ३ दल मिल्दैनौँ, प्रदेशमा पनि प्रतिपक्षमा बस्न तयार छौँः विश्वप्रकाश शर्मा

काठमाण्डु टुडे २०८३ साउन ४ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, ४ साउन– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना आफूहरुले नगरेको उल्लेख गर्दै सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको बताएका छन ।

आज (सोमबार) कांग्रेसको मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बरु आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको तर प्रमुख प्रतिपक्षीविहीन प्रदेशसभाको परिकल्पना समेत गर्न नसक्ने समेत बताएका छन ।

प्रदेश सरकारमा देखिएका समस्या समाधानका लागि संवादहरू जारी रहेको उल्लेख गर्दै उनले भने, ‘आन्तरिक रूपमा संवाद भइरहेका पनि बताएका छन । हाम्रो बटमलाइन भनेको कुनै पनि प्रदेशसभा प्रतिपक्ष विहीन बन्नु हुँदैन भन्ने हो ।’ शर्माले कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने धारणा व्यक्त गर्दै संविधानको मूल मर्मलाई जोगाउनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन । वर्तमान संविधान निर्माण गर्दैगर्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनको छलफल पनि चलिरहेको बेलामा त्यसको मूल मर्मलाई भंग गर्न मिल्दैन ।

प्रदेशगत सरकारहरूको सन्दर्भमा उब्जिएका प्रश्नहरूको समस्याको एउटा चुरो त्यहीँसँग सम्बन्धित छ । आवश्यक परेको खण्डमा कांग्रेस प्रतिपक्षमा बस्न पनि तत्पर हुन्छ ।

तर नागरिकको अभिमतभन्दा बाहिर गएर सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता राख्दैन ।’ यसैबीच उनले साउन ६ गते मनाइने जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन ।

उनले भने, ‘साउन ६ गते बीपी कोइरालाको ४४औँ स्मृति दिवस हो । यो दिवसका अवसरमा देशभर नै विशेषगरी साउन ६ र ७ गते विविध कार्यक्रमहरू हुँदैछन् ।

त्यसक्रममा काठमाण्डूमा केन्द्रीय रूपमा ‘जलवायु जनचेतना जोगाउन जुटौँ’ भन्ने मुख्य उद्देश्यका साथ साउन ६ गते कार्यक्रम आयोजना हुँदैछ । साउन ७ गते पनि त्यससँग सम्बन्धित कार्यक्रम हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us