काठमाडौं- देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेषगरी पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
महाशाखाले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।