काठमाण्डू, ५ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रमा गरिने भ्रमण राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउनेगरी पार्टीसँग अनिवार्य समन्वय र सहकार्य गर्न आग्रह गरेको छ ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा नागरिकमाझ जाँदा ‘रणनीतिक समन्वय’ गर्न भनिएको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोकेको सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संघीय संसद् र भुइँ तहका नागरिकबीचको जीवन्त संवाद अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ ।’
रास्वपाले विभिन्न बुँदामा सांसदहरूलाई सचेत पनि गराएको छ । संस्थागत समन्वय र पूर्व–सूचना, स्थानीय मुद्दाको प्राथमिकीकरण, सांगठनिक अपनत्व र जन–परिचालन, मितव्ययिता र सुशासन, नीतिगत पृष्ठपोषण प्रणाली लगायतका विषयमा सचेत गराएको हो ।
‘सांसदहरूको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एक–अर्काका पूरक हुन् । सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्याउनेछ,’ रास्वपाले भनेको छ, ‘जनताप्रतिको हाम्रो जवाफदेहितालाई थप कसिलो बनाउनेछ भन्ने कुरा मनन गर्न समेत पुनस् दिशानिर्देश गर्दछौं ।’