पूर्वअर्थमन्त्री डा. महतविरुद्धको भ्रष्टाचार मुद्दा मुल्तवीमा राख्न अस्वीकार

काठमाण्डु टुडे २०८३ साउन ५ गते १७:३६ मा प्रकाशित

काठमाण्डू, ५ साउन– विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको भ्रष्टाचारको मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको छ ।

विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको हो । डा. महत गम्भीर मानसिक रोगबाट पीडित भई अशक्त भएको र उनको स्मरणशक्ति हराएको भन्दै उनकी पत्नी रोशनाले मुद्दालाई मुल्तवीमा राख्न निवेदन दिएकी थिइन् ।

विभिन्न कारणले कुनै व्यक्तिविरुद्ध परेको सुनुवाइ र अरू सबै प्रक्रिया स्थगित गरेर मुद्दालाई दीर्घकालीन रुपमा स्थगित गर्ने कामलाई मुल्तवीमा राख्ने भनिन्छ ।

रोशना महतले पूर्वमन्त्री डा. महतको स्वास्थ्य अवस्था देखाउँदै मुद्दा मुल्तवीमा राख्न निवेदन दिएकी थिइन् । तर तीन न्यायाधीशको इजलासले डा. महत विशेष अदालतमा उपस्थित भएका बेला उपयुक्त आदेश हुनसक्ने भन्दै मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us