कमजोर बन्दै मनसुन, आज एक/दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८३ साउन ४ गते ७:०८ मा प्रकाशित

काठमाडौं- केही दिनयता सक्रिय रहेको मनसुनको प्रभाव क्रमशः कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहे पनि भारी वर्षा सीमित स्थानमा मात्रै हुने र अति भारी वर्षाको जोखिम उल्लेख्य रूपमा घटेको महाशाखाको आकलन छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिनसम्म मौसमको समग्र अवस्थामा ठूलो परिवर्तन हुने संकेत छैन ।

देशभर छिटफुटदेखि मध्यम वर्षाको क्रम जारी रहने भए पनि विगतका दिनजस्तो व्यापक र तीव्र वर्षाको अवस्था भने नदेखिएको उनले बताइन् ।

हाल गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मनसुनी प्रणाली कमजोर हुँदै गएकाले यो वर्षा पनि विस्तारै कम हुँदै जाने अपेक्षा गरिएको मौसमविद्को भनाइ छ ।

काठमाडौं उपत्यकामा पनि आइतबारको तुलनामा सोमबार मौसम केही खुल्ने र वर्षाको गतिविधि घट्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै क्षेत्रमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यद्यपि भारी वर्षाको सम्भावना भने सीमित क्षेत्रमा मात्रै रहेको महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्र र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्ने आकलन गरिएको छ ।

महर्जनका अनुसार पछिल्ला दिनको तुलनामा अति भारी वर्षाको जोखिम घटे पनि स्थानीय रूपमा पर्ने भारी वर्षाले पहिरो, भूक्षय र नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले विशेषगरी पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

वर्षाका कारण छोटो अवधिका लागि सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भए पनि दिनभरि नै व्यापक प्रभाव पर्ने अवस्था नरहेको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us