धादिङ- अविरल वर्षापछि धादिङको बेनीघाट क्षेत्रमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
धादिङ प्रहरीले बेनीघाटमा ठूलो पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात रोकिएको जनाएको छ ।
गएरातिको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा साना तथा ठूला पहिरो खसेका थिए ।
तीमध्ये अधिकांश साना पहिरो हटाइसकिएको भए पनि बेनीघाटको पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण थप जोखिम बढ्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले गएरातिदेखि नै उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।
पहिरो हटाएर सडक सुरक्षित भएपछि मात्रै यातायात सञ्चालन गरिने जनाइएको छ ।
लेदोसहितको पहिरोका कारण बीपी राजमार्ग पनि अझै अवरुद्ध रहेको छ ।
यी दुई राजमार्गबाहेक अन्य प्रमुख सडक भने सञ्चालनमै रहेको नेपाल प्रहरीले जनाएको छ ।