काठमाण्डु- जापान भ्रमणका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिलाई लिएर विवाद चर्किएको छ ।
सार्वजनिक कार्यक्रममा दिएको कटाक्ष र त्यसपछि फेसबुक लाइभमार्फत प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप तीव्र बनेको हो ।
जापानमा आयोजित एक कार्यक्रममा बोल्दै शाहीले रास्वपाका सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै आफू केवल नमस्कार गरेर बस्ने व्यक्ति नभई आवश्यक पर्दा गृहमन्त्रीसँग आँखा जुधाएर र औँला ठड्याएर कुरा गर्ने बताएका थिए ।
त्यसपछि सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको आलोचना सुरु भएको थियो ।
आफूमाथि सुनियोजित रूपमा आक्रमण भएको दाबी गर्दै शाही त्यसपछि फेसबुक लाइभमा आएका थिए ।
लाइभका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई गँजेडीको ग्याङ, गृहमन्त्री सुधन गुरुङलाई टीओबी (TOB) ग्याङको नाइके, र रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगको आरोप लगाए ।
उनले लामिछानेले चारवटी श्रीमती ल्याएको दाबी गर्दै व्यक्तिगत टिप्पणीसमेत गरेका थिए ।
यस्तै, रास्वपा समर्थकलाई सडकछाप र खरानी ग्याङ भन्दै टिप्पणी गरेका थिए ।
उक्त अभिव्यक्तिपछि उनको व्यापक आलोचना भएको थियो, पछि उनले फेसबुक लाइभ भिडियो हटाएका थिए ।
त्यसपछि रास्वपाका सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत शाहीमाथि व्यङ्ग्यात्मक शैलीमा काउन्टर दिएका छन् । उनले लेखेका छन्, “भारत गएर आधा सिए (C.A), जापान गएर आधा पिए ! नेपालमा राजाको कुरा, जापान पुगेर गाँजाको कुरा !!” उनले “देख्यौं हैन जापानी तरक, यही साथी जाँड खाने र नखानेमा फरक !!!” भन्दै थप कटाक्ष गरेका छन् ।
राप्रपाले भने आफ्ना सांसदको बचाउ गरेको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सांसद ज्ञानबहादुर शाही र प्रमुख सचेतक खुस्बु ओलीमाथि योजनाबद्ध र संगठित रूपमा साइबर बुलिङ भइरहेको दाबी गर्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
विवाद चर्किएपछि शाहीले सामाजिक सञ्जालमा कविता सार्वजनिक गर्दै आफूले रिसको आवेगमा बोलेको संकेत गरेका छन् । उनले जापानको रक्सी कडा भएको र आफूले नखाँदै पनि रक्सी लागेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
जापान भ्रमणका क्रममा सुरु भएको शाही र सुनारबीचको सार्वजनिक जुहारी अहिले सामाजिक सञ्जालमा राजनीतिक वृत्तको प्रमुख बहस बनेको छ । दुवै नेताका अभिव्यक्ति र त्यसपछि आएका प्रतिक्रियाले समर्थकहरूबीच आरोप–प्रत्यारोपलाई थप चर्काएको छ ।