ज्ञानेन्द्र शाहीलाई माफी माग्न रास्वपा प्रवास सम्पर्क विभाग जापानको आग्रह

काठमाण्डु टुडे २०८३ साउन ३ गते १४:५७ मा प्रकाशित

काठमाण्डू, ३ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप समेत लगाएको छ ।

जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत भएको भन्दै सांसद शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ ।

विभागका अध्यक्ष दीपक केसी र सहसचिव फणिन्द्र शर्मा सुबेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उचित सम्बोधन र सार्वजनिक क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी समेत दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us