काठमाण्डू, ३ साउन– जारी फिफा विश्वकप फुटबल अन्तर्गत अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडपति हुनुपर्ने अवस्था आएको छ ।
खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि फाइनलको टिकटको मूल्य पुनर्बिक्री बजारमा २३ लाख अमेरिकी डलर (करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँ) सम्म पुगेको छ । लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने फाइनललाई अमेरिकाको इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगिता मानिएको छ ।
शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री प्लेटफर्ममा झण्डै सबै टिकट बिक्री भइसकेका थिए। त्यहाँ उपलब्ध केही टिकटको मूल्य करिब ३२ हजार अमेरिकी डलर (४९ लाख रुपैयाँ) थियो ।
तर शनिबारसम्म आधिकारिक बिक्रीका लागि कुनै टिकट बाँकी रहेन। पुनर्बिक्री प्लेटफर्ममा भने टिकटको मूल्य १० हजार डलरभन्दा कमदेखि २३ लाख डलरसम्म पुगेको देखिएको छ।