काठमाण्डू, ३ साउन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गर्नु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो निर्णय कुनै पनि अवस्थामा नदोहोरिने बताएका छन ।
पार्टीको खाँडादेवी–काठमाण्डू सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन । उनले उज्यालो नेपाल पार्टी स्वतन्त्र रूपमा अघि बढ्ने र भविष्यमा कुनै पनि दलसँग मर्ज नहुने पनि बताएका छन ।
उनले विगतका कमजोरीबाट पाठ सिकेर उज्यालो नेपाल पार्टीको अस्तित्व जोगाउँदै सङ्गठन विस्तारमा केन्द्रित हुने पनि बताएका छन ।
उनले आवश्यक परे आफू एक्लै भए पनि पार्टीलाई अघि बढाइरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन । उनले भने, ‘आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले उल्लेखनीय सफलता हासिल गर्नेछ ।
त्यसपछि हुने सङ्घीय निर्वाचनमा पनि जनताको मुख्य रोजाइ हामी नै बन्नेछौँ।’ उनले उज्यालो नेपाल पार्टीलाई जिम्मेवार, अनुभवी र जनविश्वास प्राप्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताएका छन ।
उनले अब पार्टीले देशव्यापी तीन महिने अभियान सञ्चालन गर्ने र हरेक पालिकामा पार्टीका प्रतिनिधि पुगेर जनताका समस्या बुझ्ने समेत बताएका छन ।