काठमाण्डु, ७ कात्तिक- प्रधानमन्त्री केपी ओलीले सरकारको १ सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् ।
ओलीले अपराह्न ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रगति सार्वजनिक गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
गत ३० असारमा ओली संसदको पहिलो ठूलो दल कांग्रेस र केही साना दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।
बाढीपहिरोको विपदपछि उद्दार, राहत र पुनःस्थापनाको काममा सरकारको उपस्थिति कमजोर देखिएको भन्दै जनस्तर र सत्तारूढ घटकबाट सरकारको आलोचना भएको छ ।
यस्तै राजनीतिक स्थिरताका लागि बन्दै संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पूर्वघोषित प्रतिबद्धताअनुसार संविधान संशोधनको दिशामा कुनै तयारी नगरेको र सुशासनको मामिलामा कमजोर देखिएको टिप्पणी चौतर्फी सुन्न थालिएको छ ।
पछिल्लोपटक नक्कली बिल प्रकरणमा सर्वोच्च अदालतले १ अर्ब जरिवाना लगाएका र बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा ल्याउन संलग्न रहेको आरोपमा मुद्धा खेपिरहेका व्यवसायीसँग एमाले केन्द्रीय कार्यालय बनाउन ११ रोपनी जग्गा दान लिएको विषयमा प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भइरहेको छ ।
यस्तै प्रतिपक्षी दल विभाजनका लागि ओलीले अध्यादेश ल्याउन लागेको विषयले राजनीतिक वृत्त तातिएको छ ।