विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १६:५४ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत वितरण गरेको छ ।

विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन ।

उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको उनले जानकारी दिएका छन । विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् ।

पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको उनले जानकारी दिएका छन ।

अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनले जानकारी दिएका छन । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाण्डुका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७र७ मृतक परिवारले राहत पाएको उनले जानकारी दिएका छन ।

त्यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४र४, सर्लाही र सिन्धुलीका ३र३, झापा, महोत्तरी र रुपन्देहीका २/२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले जनाएको छ ।

विपद्‍मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात रहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us