राष्ट्रपतिको दौड छाड्ने बाइडेनको संकेत, कमला ह्यारिसलाई समर्थन गर्ने

काठमाण्डु टुडे २०८१ साउन ५ गते ९:०१ मा प्रकाशित

Democratic presidential nominee Joe Biden delivers remarks at the Chase Center in Wilmington, Delaware, on November 6, 2020. – Three days after the US election in which there was a record turnout of 160 million voters, a winner had yet to be declared. (Photo by ANGELA WEISS / AFP) (Photo by ANGELA WEISS/AFP via Getty Images)

एजेन्सी– अमेरिकी राष्ट्रपतीय जो बाइडेनले आगामी राष्ट्रपतिको दौड छाड्ने संकेत देखाएका छन । गत जुन २७ मा भएको राष्ट्रपतीय बहसमा उनले खराब प्रस्तुति दिएका थिए । त्यसपछि डेमोक्र्याटिक पार्टीबाट फेरि उम्मेदवार नबन्न उनलाई आग्रह गरेको छ । रिपब्लिकन दलका उम्मेदवार समेत रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको बहसमा ८१ वर्षीय बाइडेन धेरैपटक बीचबीचमा रोकिएका थिए ।

उनले बोल्दा वाक्यहरू पनि पूरा गर्न सकेका थिएनन् । एउटा शब्द बोल्नुपर्नेमा झुक्किएर अर्कै शब्द बोलेका थिए। नबुझिने गरी भकभकाएका र उनी बर्बराएका थिए। बहसपछि परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएका द न्यूयोर्क टाइम्स, द एट्लान्टिक, द न्यू योर्कर लगायतले बाइडेनले अब राष्ट्रपतिको दौड छोड्नुपर्ने लेखेका थिए । रिपब्लिकन पार्टीको समर्थन गर्ने वाल स्ट्रीट जर्नलले समेत यस्तै लेखेको थियो । बाइडेनले दौड छोड्नुपर्ने भन्दै सुरूमा डेमोक्र्याटिक पार्टीलाई चन्दा दिनेहरूले गाइँगुइँ गरेका थिए ।

पछि पार्टीका प्रभावशाली नेताहरूले भित्रभित्रै त्यस्तो माग गरे। तर बाइडेन दौड नछाड्ने भनेर दृढ रहे। अहिले भने बाइडेनले आफ्नो सोच बदलेको र अन्ततः राष्ट्रपतिको मैदान छाड्ने संकेत देखाएका छन । शुक्रबार सबैजसो पश्चिमा मिडियाहरूले अब बाइडेनले दौड छोड्न लागे भन्ने खालका समाचारहरू बाहिर लेराएका छन ।

द न्यूर्येक टाइम्सले ‘बाइडेन निकटका मान्छे भन्छन्–उनले छोड्नुपर्ने हुनसक्छ भन्ने स्वीकार गरेको देखिन्छ’ शीर्षकमा समाचार छापेको छ। बाइडेन निकट ती व्यक्तिका अनुसार बाइडेनले चाँडै राष्ट्रपतिको दौड छाडेर उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार समर्थन गर्ने संकेत देखिएको छ । त्यस्तै बाइडेनले छाडे भने कुन समयमा घोषणा गर्न उत्तम हुन्छ भन्ने लगायत विषयमा उनका सल्लाहकारहरूले छलफल सुरु गरेको समाचारमा उल्लेख गरीएको छ ।

टाइम्सको समाचार अनुसार बाइडेनलाई राष्ट्रपति दौडबाट बाहिरिने गरी तीन कुराले प्रभाव पारेको छ। पहिलो हो, प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले खुलेरै बाइडेनले छोड्नुपर्छ भन्नु । दोस्रो, नयाँ मत सर्वेक्षणले बाइडेनले जित्ने सम्भावना झनै कम देखाउनु। र तेस्रो, केही मुख्य चन्दादाताले उनको बहिष्कार गर्नु। फाइनान्सियल टाइम्सले पनि केही प्रमुख चन्दादाता र पार्टी नेताको हवाला दिँदै बाइडेनले छाड्न लागेको भनेर लेखेको छ ।

डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता एवं सिनेटका बहुमत पक्षका नेता चक सुमर निकट एक चन्दादाताले यो प्रसंग चाँडै टुंगिने बताएका छन् । एक वरिष्ठ नेताले ‘थामिनसक्नु दबाब’ भएको पनि बताएका छन्। त्यस्तै द वासिङटन पोस्टका अनुसार पूर्वसभामुख न्यान्सी पेलोसीले बाइडेनलाई छोड्न मनाउन सकिने भनेर डेमोक्र्याटिक पार्टीका प्रतिनिधि सभा सदस्यहरूलाई भनेकी छन्।

पूर्वराष्ट्रपति बाराक ओबामाले पनि आफू निकटसँग बाइडेनको जित मुस्किल भएकाले उनले आफ्नो उम्मेदवारीबारे गम्भीर रूपमा सोच्नुपर्ने भन्न थालेका छन्। बाइडेन सन् २००८ देखि २०१६ सम्म ओबामाका उपराष्ट्रपति थिए। तर ओबामाले आफूले भनेर मात्रै बाइडेनले छाड्छन् भनेर दबाब दिनु गलत भएको बताएका छन्।

यसबाहेक अरू थुप्रै मिडियाले बाइडेन पछि हट्न सक्ने लेखेका छन्। कति मिडियाले त ट्रम्पको चुनावी अभियानको टिमले डेमोक्र्याटिक पार्टीबाट अर्का उम्मेदवार आए भने के गर्ने भनेर तयारी नै गर्न थालेको जनाएका छन् । पछिल्लो समय बाइडेनमा उमेरजन्य समस्याहरू देखिँदै आएका छन्। बाइडेनको घरमा भेटिएको गोप्य कागजातबारे स्पेसल काउन्सेल रोबर्ट हरले छानबिन गरी गत फेब्रुअरीमा बुझाएको प्रतिवेदनले बाइडेनको उमेर र स्मरण शक्तिबारे पहिलो पटक प्रश्न उठाएको थियो ।

प्रतिवेदनले त्यो मामिलामा फौजदारी मुद्दा चलाउनु नपर्ने ठहर गरेको थियो तर बाइडेनको स्मरण शक्ति ज्यादै सीमित भएको दाबी गरेको थियो। बाइडेन असल नियत भएका तर बढ्दो उमेरका कारण उनको दिमागी तीक्ष्णता कम हुँदै गएका मानिस भनिएको थियो ।

उनलाई उपराष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकाल कहिले सकिएको थियो भन्ने सम्झना नभएको भनेर प्रतिवेदनले औंल्याएको थियो। यति मात्र होइन, बाइडेनलाई आफ्ना जेठा छोरा बो बाइडेनको निधन कहिले भएको समेत सम्झना नभएको भनेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us