१० कम्युनिष्ट घटकद्वारा इरानमाथि आक्रमण गरेकामा अमेरिकाको निन्दा

काठमाण्डु टुडे २०८२ असार ८ गते २१:५३ मा प्रकाशित

काठमाण्डू, ७ असार– नेपालका विभिन्न १० कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकाले इरानमाथि हमला गरेकामा आपत्ति जनाएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा मसाल, राष्ट्रिय जनमोर्चासहितले इरानमाथि अमेरिकी आक्रमणको भर्त्सना गर्दै आइतबार विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा उनीहरुले अमेरिकाले इरानको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन् । ‘अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ ।’ उनीहरुले प्यालेस्टाइनमा इजरायली हस्तक्षेपको समेत आलोचना गरेका छन् ।

‘अमेरिकी साम्राज्यवाद’ ले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गर्नु गम्भीर युद्ध अपराध भएको ठहर उनीहरुको छ । ‘अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ’, विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौं ।’

विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता, पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति, नेकपा (बहुमत) का कृष्णप्रसाद धमला, वाम बुद्धिजिवी निनु चापागाईं र राजनीतिक संवाद थालनीका संयोजक संगीत श्रोताले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us