
काठमाण्डू, ७ असार– सत्तारुढ कांग्रेस सांसद रामाहरि खतिवडाले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट संशोधन हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार बजेटबारे बोल्दै उनले मन्त्रीहरूले मनपरी ढंगले बजेट विनियोजन गरेको बताए । मन्त्रीहरुले बजेट ससुराली, साली र जेठी सासुको घर जाने बाटोमा पैसा हालेको आरोप लगाए ।
‘बजेट हेर्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको । कोही जेठी सासुको घरतिर जाने बाटोमा हालिएको । कोही सालीकोतिर पनि हालिएको जस्तो देखिएको छ, कुनैकुनै मन्त्रीहरूले’, उनले भने । खतिवडाले बजेट मन्त्रीका लागि मात्र नभई देशका लागि वितरण हुनुपर्ने उल्लेख गरे ।
खतिवडाले अर्थमन्त्रीले पेश गरेको बजेट परिवर्तन गर्नै नहुने परम्परा तोडिनुपर्ने बताए । बजेटमाथिको छलफलमा सांसदले उठाएका विषय समेट्न बजेट संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।
जनताबाटै निर्वाचित प्रतिनिधि मन्त्री भएको भन्दै उनले देशको मन्त्री हुँ भन्ने ख्याल गरेर बजेट निर्माण गर्ने परम्परा सुरुआत नभएकामा आपत्ति जनाए ।
‘बजेटमा कमा फूलस्टप पनि परिवर्तन गर्न हुँदैन भन्ने धारणापरिवर्तन गर्नुपर्छ’, खतिवडाले भनते, ‘सांसदको आवाजलाई सुनेर बजेटमा परिवर्तन परिवर्तन गरियोस् । बजेट जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने भावना ठीक होइन ।’
यस्तै उनले अर्थमन्त्री विष्णु पौडेलले ५ करोडभन्दा माथिका आयोजनालाई मात्र बहुवर्षीयमा समावेश गरेर मन्त्रीका लागि मात्र बजेट जाने परम्परा बसालेको आरोप लगाए ।