
काठमाण्डू, ८ असार– कांग्रेस डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओली संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्न तयार नभएको खुलासा गरेका छन् ।
आइतबार तनहुँमा आयोजित कार्यक्रममा कोइरालाले ओलीको दबाबमा विधेयक रोकिएको भन्दै आपत्ति जनाए ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एक मतले पारित गरेको प्रतिवेदनमा उच्च सरकारी कर्मचारीले अवकाश पाएको दुई वर्षसम्म संवैधानिक निकायसहितमा नियुक्ति नपाउने व्यवस्था सर्वसम्मतिले राखिएको थियो ।
कोइरालाले प्रधानमन्त्री ओलीको आदेशमा सभामुख देवराज घिमिरेले विधेयक अघि नबढाएको आरोप लगाए । काँग्रेस सरकारमा भए पनि सत्तामा नरहेका कारण मनपरी बढेको उनको टिप्पणी थियो ।
‘अरु दल कुलिङ पिरियड राख्नुपर्नेमा एक मत छन्’, कोइरालाले भने, ‘प्रधानमन्त्रीको हठ किन र कसका लागि हो ?’
सरकारले नै सचिव बनाउने र अवकाश लगत्तै अख्तियार, निर्वाचन आयोग, महालेखा जस्ता संवेदनशील निकायमा नियुक्ति दिँदा उनीहरुबाट निष्पक्ष कार्यसम्पादन हुन नसक्ने भएर ‘कुलिङ पिरियड’को व्यवस्था राख्न खोजिएको उनको भनाइ थियो ।
कोइरालाले अरु मुलुकमा पनि ‘कुलिङ पिरियड’ प्रचलनमा रहेको बताए ।