धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन: प्राधिकरण

काठमाण्डु टुडे २०८० फागुन १५ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, १५ फागुन– नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले यस्तो निष्कर्ष निकालेको हो ।

साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरीएको छ । धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले दबाव दिएका थिए ।

त्यसपछि सरकारले समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेको बारे अध्ययन गरेको थियो । सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको प्राधिकरण निष्कर्ष निकालेको हो ।

धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us