एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८२ असार २० गते १७:०९ मा प्रकाशित

काठमाण्डू,२० असार– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ ।

यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् । पक्राउ पुर्जीबारे मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने केही बताउन चाहेनन् । ‘यो अनुसन्धानकै चरणमा रहेकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भने । यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा यादवले एसपीलाई ‘को हो तिमीहरू’ भन्दै अपशब्द बोलेको समेत सुनिन्छ ।

अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरू’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ । त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै गम्भीर आरोप लगाएको पनि सुनिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us