मैले पार्टी फुटाउँदै छ भनेर कुप्रचार गरियोः झलनाथ खनाल

काठमाण्डु टुडे २०८३ असार १५ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, १५ असार– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने निराधार हल्ला र कुप्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

आज (सोमबार) काठमाण्डूमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन ।

उनले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको समेत बताएका छन । उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको समेत बताएका छन ।

उनले आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताए ।

नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताएका छन । उनले भने, ‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन् ।

म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु, साथिहरू कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस् । झलनाथ खनाल कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो । गुट बनाउने कुरा पनि गलत हो भन्दै आएको मान्छे हो । तर यतिबेला हामीले वैज्ञानिक समाजवादको विचार निर्माण नगरिहुने भएन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us