
काठमाण्डू,२० असार– यस बर्ष त्रिभुवन विश्वविद्यालयबाट करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने भएका छन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने जानकारी दिएका छन ।
त्रिविको ६६ औं वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताए । ‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठूलो संख्या हो,’ उपकुलपति केसीले भने, ‘संसारको धेरै विश्वविद्यालमा ९० हजार विद्यार्थी हुँदैनन् ।’ यद्यपि, उपकुलपति केसीले अपेक्षा अनुसार विद्यार्थीलाई सेवा दिन नसकिएको बताए ।
पछिल्लो एक वर्षमा सुधारको काम हुन थालेको पनि बताएका छन । उनले भने, ‘परीक्षामा सुधार भएको छ । किन विद्यार्थीको संख्या बढ्यो भन्दा डेढ वर्षमा हुने नतिजालई तीन महिनामा झार्न सफल भएका छौँ, ‘समयमा पढाइ, समयमा कोर्स पूरा गरेर परीक्षा भएर नतिजा आउनु अनौठो कुरा होइन । तर यही नै ठूलो उपलब्धि लिनुपर्ने परिस्थिति छ ।
यसकारण ९० हजार विद्यार्थी ग्राजुएट हुन लागेको हो ।’ रजिस्ट्रार केदार प्रसाद रिजालले देशकै ठूलो विश्वविद्यालयको भौतिक संसचना सुधारको आवश्यकता रहेको पनि बताए । ‘देशको ८० प्रतिशत विद्यार्थीलाई सकिरनसकि सेवा सेवा पुर्याएको छ । धेरैको रोजाइमा त्रिवि छ । आज पनि ४ सय बढी प्रोग्राम सञ्चालन भइरहेको छ । यसैले राष्ट्रपति प्रधानमन्त्री उत्पादन गरेको छ ।
विश्वभर यहाँ उत्पादन भएका पुगेका छन् । तर पूर्वाधारको अफ्ठ्यारो परेको छ,’ रजिस्ट्रार रिजालले भने । उपकुलपति केसीका अनुसार त्रिवि हाल १५७ वटा युनिटमा विस्तारित छ । ‘६४ वटा आंगिक क्याम्पस छ । ४४ वटा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र डिन कार्यालय गरी १५७ वटा इकाइ र १ हजार बढी सामुदायिक र निजीलाई सम्बन्धन दिएको छ । देशको ७७ जिल्लामा विस्तार छ,’ उनले भने ।