मान्छेहरू मलाई ‘जसलाई पद दियो, उसैबाट नोक्सानी हुन्छ’ भन्न थालेः अध्यक्ष नेपाल

काठमाण्डु टुडे २०८२ असार २० गते १६:०६ मा प्रकाशित

काठमाण्डू,२० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन ।

आज (शुक्रबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले आफुले कहिलेपनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफूविरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘नबिराउनू, नडराउनू । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण पेस गरोस् । जुनसुकै बलिदान गर्न तयार हुन्छु ।’

यस्तै उनले आफूले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनको दाबी थियो । आफूले अघि सारेकै र पद दिएकैहरूबाट नोक्सानी हुने गरेको भनेर आफ्ना नजिककाहरूले भन्ने गरेको पनि उनले बताए ।

उनले भने, ‘कहिले पनि बदलाको भावनाबाट नहिँड्ने । सकेसम्म सबैलाई समेटेर अघि लाने मान्छे हुँ म । मलाई अहिले भन्छन्, ‘तपाईं मान्छे चिन्नुहुन्न । जसलाई उकास्नुहुन्छ, जसलाई पद दिनुहुन्छ, त्यही मान्छेले तपाईंलाई नोक्सानी गर्ने गरेको छ ।

यो संसार नै यस्तै छ भनेर ।’ अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी पनि गरे । एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us