पहिचानवादीलाई आतंककारीको संज्ञा दिँदै ओलीले भनेः कोशी तिमीहरुको बिर्ता होइन

काठमाण्डु टुडे २०८० मंसिर २१ गते २०:३० मा प्रकाशित

पर्वत, २१ मंसिर– एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको चेतावनी दिएका छन् ।

एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा बिहीबार पर्वतमा आयोआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेलाई कसैले पनि निषेध गर्न नसक्ने बताए । पहिचानवादीहरुले एमाले अभियानलाई पूर्वमा प्रवेश रोक्ने चेतावनी दिएकोप्रति संकेत गर्दै ओलीको उक्त भनाइ आएको हो ।

कोशीमा एमाले प्रवेश गर्न नदिने भन्नेहरूलाई बुद्धि सच्याउन ओलीको आग्रह थियो । एमाले कहाँ जाने र कहाँ जान नपाउने भन्ने नसिकाउने उनले आग्रह गरे । ‘एमालेको यो यात्रा कोशी प्रदेशमा प्रवेश गर्न दिन्नौं । किन नदिने ? नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? नेकपा एमाले त प्रदेश एकमा पनि छ । खास जान नपाउने को ? कसैको बिर्ता होइन कुनै भू–भाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरू हामीले धेरै देखेका छौं’, उनले भने, ‘यस्तो फूर्ति नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ ।’

ओलीले एमालेलाई धम्की दिन छाट्न भन्दै प्रवेश गर्न दिन्नँ, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरूको सामना गरेर अघि बढ्ने चेतानवी दिए । ओलीले छोरी छोरी, ज्वाइँ, नातिनातिना सबै फलेको फुलेको र जनता, लडाकू, घाइते, शहीद, शहीदका परिवार बिर्सिएकाहरुले पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने र भ्रममा पार्ने क्रियाकलाप अघि बढाएको आरोप ओलीले लगाए ।

एउटा पृष्ठभूमि विशेषको नाम नराखिएको बहानामा केही तत्वले वितण्डा मच्चाउन खोजेको टिप्पणी उनले गरे । नेपालमा एकता र शान्ति हुन नदिन, लोकतन्त्र बलियो हुन नदिन विदेशीबाट सञ्चालित तत्वहरुले बितण्डा मच्चाएको आरोप ओलीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us