
नवलपुर, २० वैशाख– कांग्रेस वरिष्ठ नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
नवलपुरको कावासोतीमा पार्टीनिकट पत्रकारको सस्था नेपाल प्रेस युनियनद्वारा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले भ्रष्टाचार नियन्त्रण, सुशासन, र संविधान संशोधनजस्ता विषयमा सरकार पूर्णरूपमा असफल भएको बताए ।
संसदका दुई प्रमुख दल काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिलाई सरकार आफैंले बेवास्ता गरेको आरोप उनको थियो । ‘दुई दल मिलेर सरकार बनाएपछि तब नागरिकले सुधारको अपेक्षा गरेका थिए’, कोइरालाले भने,‘ तर, यो सरकारले न त भ्रष्टाचार रोक्न सकेको छ । न सुशासन दिन सकेको छ ।’
कोइरालाले दुई महिनासम्म नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्न नसक्नुले सरकारको अयोग्यता पुष्टि भएको तर्क गरे । यस्तो सरकारबाट सुशासनको अपेक्षा गर्नु बेकार रहेको उनको भनाइ थियो ।
‘अघिल्लो गभर्नरको कार्यकाल सकिनु एक महिना बाँकी हुँदा नै नयाँ नियुक्तिको सिफारिस गर्नुपर्ने हो । तर, कार्यकाल सकिएको दुई महिना बितिसक्दा पनि सरकारले नयाँ गभर्नर दिन सकेको छैन’, उनले भने, ‘यस्तो सरकारले के सुशासन दिन्छ, के काम गर्न सक्छ ?’ ।
उनले आफ्नै दल सहभागी सरकारको असक्षामताको दोष काँग्रेसले नलिने जिकिर गरे । काँग्रेस सरकारमा सहभागी भए पनि नेतृत्व एमालेको भएकाले असफलताको मुख्य जिम्मेवारी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने कोइरालाले बताए ।
‘सरकारको नेतृत्व जसले गर्छ, उत्तरदायित्व पनि उसैले लिनुपर्छ’, कोइरालाले भने । फरक प्रसंगमा कोइरालाले काँग्रेस महाधिवेशन तोकिएकै समय आगामी मंसिरमा हुनुपर्ने माग गरे ।
महाधिवेशन ढिलो गरिए पार्टीकै अस्तित्वमाथि खतरा उत्पन्न हुने चेतावनी दिए ।