न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता होः राष्ट्रपति

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १६:४२ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड आवाश्यक रहेको पनि बताएका छन । राष्ट्रपति पौडेलले भने, ‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ, ‘मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादनमा जोड दिइनुपर्छ ।’

उनले विधिको शासन कायम गर्न तथा न्यायिक मूल्य–मान्यतामा क्षयीकरण हुन नदिन न्यायालयको जनआस्था बढाउनु पर्ने पनि बताएका छन । कानुन दिवसमा शुभकामना दिँदै राष्ट्रपतिले भने, ‘विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् ।’

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको उनले चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us