गभर्नर नियुक्ति नहुनुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषीः सांसद सिंह

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको दाबी गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन । उनले गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा त्यसको गम्भीर असर परिरहेको पनि बताएका छन ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन । उनले भने, ‘सरकारले सामान्य प्रक्रियाअन्तर्गत गभर्नर नियुक्ति गर्नु पर्ने हो ।

तर, दुई दलबीच भागबण्डाको झगडाले एउटा गभर्नरको नियुक्ति हुन सकेको छैन,’ सांसद सिंहले प्रश्न गरे, ‘आर्थिक क्षेत्रमा त्यसको आर्थिक असर कति पर्छ सरकारलाई मतलब छ ?’ सरकारमा बसेका प्रमुख दुई दलको ध्यान कसरी आफ्ना कार्यकर्तालाई नियुक्ति दिलाउने र आर्थिक क्षेत्र कब्जा गर्ने भन्नेमा मात्र केन्द्रित रहेको पनि उनले बताएका छन ।

उनले यो कार्यकर्ताको मात्र देश हो कि नेपाली जनताको पनि हो भन्दै उनले दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त पारेको पनि बताएका छन । सांसद सिंहले भने, ‘गभर्नर नियुक्ति नहुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तापक्षका सभापति (कांग्रेस सभापति शेरबहादुर देउवा) दोषी रहेको भन्दै उनले यी दुई नेता राजाजस्तै अगाडि–पछाडि गाडी लिएर घुमौं भन्नेमा सहमत देखिएको जिकिर गरे ।

‘लथालिंग देशको भताभुंग चाला’ भन्ने आहान सुनाउँदै आफ्नो कुरा थालेका सांसद सिंहले मलको हाहाकार भएर किसान मर्कामा परिरहेको सन्दर्भ पनि चर्चा गरे । उनले भने, मलको हाहाकार छ । मल पाइएको छैन ।

सीमापारि मल पाइन्छ । त्यताबाट एक–दुई बोरा लिएर आउने किसानलाई समातेर सशस्त्र प्रहरीले पौरख देखाइरहेको छ । तर, रातभर हुने तस्करी रोक्नेतर्फ ध्यान छैन,’ उनले सरकार किसानविरोधी र बिचौलियामैत्री बनेको आरोप पनि लगाए । उनले पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिँदा पर्यटनको विकास हुन नसकेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us