…जब ट्याक्सीबाट हत्कडीसहित भागे प्रमोद

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– काठमाण्डू महानगरपालिका–१६ बाट प्रहरीले गत ३० चैतको राति पौन ११ बजेतिर लागु औषध ब्राउन सुगरसहित प्रमोद सुतिहार ठाकुरलाई पक्राउ गर्‍यो ।

काठमाण्डू महानगरपालिका–१६ बाट पक्राउ परेका ठाकुरलाई प्रहरीले हत्कडी लगाउँदै भाडाको ट्याक्सीमा हालेर कार्यालय ल्याउँदै थियो । सो बेलामा बालाजु पुलखण्डमा आइपुगेपछि प्रहरीको आँखा छलेर ठाकुर ट्याक्सीको ढोका खोल्दै ओर्लिएर फरार हुन सफल भए ।

सँगैको प्रहरीलाई समेत छक्याएर ट्याक्सीबाट हत्कडीसहित भागेका ठाकुर तीन दिनसम्म फेला परेनन् । प्रहरी खोजतलासको क्रममा उनी ३ वैशाखको बिहान १० बजेतिर टोखा नगरपालिका–३ भत्केको पुल क्षेत्रबाट पक्राउ परे ।

उनी पक्राउ परेपछि अनुसन्धान गर्दा ठाकुरको हत्कडी खोल्नदेखि उनलाई सँगै राख्न सहयोग गरेको आरोपमा उनका भिनाजु नाता पर्ने ओम नारायण शर्मा पक्राउ गरीयो । सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका शर्मा टोखामा फर्निचरमा काम गर्दै आएका थिए । ट्याक्सीबाट भागेपछि ठाकुर फर्निचर कारखानामा पुगेका थिए ।

त्यसपछि शर्माले नै ह्याक्सोको सहायताले ठाकुरको हत्कडी काटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्कडीसहितको मान्छे आएपछि प्रहरीलाई जानकारी गराउनुको साटो उल्टै हत्कडी खोल्दै सँगै राखेर काम लगाएको भन्दै शर्माविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध पक्राउबाट उम्काउन र थुनाबाट भगाएको कसुरमा काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर भएको छ । हत्कडी भने विष्णुमति खोलामा फालेको बयान उनले दिएका छन् ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १०२ अनुसार पक्राउबाट उम्काउने तथा थुनाबाट भगाउने काम गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us