केही ठूला भ्रष्टाचारका फाइल खोल्दैछुः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १९:५२ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचार प्रकरणको छानबिन थालिने बताएका छन् ।

माओवादी केन्दका अध्यक्षसमेत रहेका उनले काठमाण्डुको तारकेश्वर नगरपालिकामा बिहीबार आयोजित पार्टीको नगरस्तरश्रय भेलालाई सम्बोधन गर्दै सुशासनको लडाईंलाई अर्को चरणमा लैजाने गरी काम अघि बढेको बताए ।

भ्रष्टाचारविरोधी र सुशासन प्रवर्द्धनको अभियान नरोकिने उनको भनाइ थियो । प्रचण्डले सरकारले ठूला भ्रष्टाचारका गम्भीर प्रकृतिका केही फाइल खोल्नै लागिएको जानकारी दिए । प्रचण्डे सरकारको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणजस्तो गम्भीर अपराधको छानबिन अघि बढाएर सरकारले यसअघि इतिहासमा कहिल्यै नभएको काम गरेको दाबी गरे । मिटरब्याजी र नागरिकता समस्याको समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम आफ्नो कार्यकालका सन्तोषजनक उपलब्धी भएको उनले बताए ।

फरक प्रसंगमा उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तर्क्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको उल्लेख गरे । प्रचण्डले सरकारको ध्यान ठूला अयाोजनामा केन्द्रित भएको भन्दै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने जानकारी दिए ।
प्रधानमन्त्रीले बुढीगण्डकी जलाशययुक्त आयोजनाको शिलान्यास छिट्टै गर्न लागिएको जानकारी पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us