पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

काठमाण्डु टुडे २०८० मंसिर २० गते १७:५७ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– आगमी पुसदेखि पशु चौपायामा नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य संकलन आगामी गरिने भएको छ । बाहिरबाट ल्याइएका पशु चौपायालाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले पुसबाट मात्रै वीर्य संकलन गरिने पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा जगदीश पाण्डेयले जानकारी दिएका छन ।

पशु चौपायाबाट वीर्य संकलन गर्नका लागि करिब साढे दुई वर्षको उमेरको हुनुपर्ने उनले बताएका छन । भारतबाट ल्याइएका मुर्रा राँगाको उमेर २४ महिनादेखि २८ महिना उमेर समुहका रहेका छन । ‘सबै राँगामा साढे दुई वर्षकै उमेर हुनु पर्छ भन्ने छैन,’ उनले भने, ‘कुनै–कुनै बाठा हुन्छन् ।’

एक पटकमा, एक मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने उनले बतताएका छन । सातामा २ पटक वीर्य संकलन गरिने छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताएका छन । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने उनले बताएका छन । उनका अनुसार साढे १९ सय कृत्रिम गर्भाधान गराउने सक्रिय संघ संस्थाहरु छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us